प्रशिक्षक श्रेष्ठ, जसले पहिलो प्रशिक्षणमै मनाङलाई उपाधि दिलाए

2018-12-29

2075-09-14


प्रशिक्षक श्रेष्ठ, जसले पहिलो प्रशिक्षणमै मनाङलाई उपाधि दिलाए

काठमाडौँ, पुस १४
पहिलो पटक ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बनेका सुमन श्रेष्ठ पहिलो प्रशिक्षणमै उपाधि जित्न सफल भएका छन् । सन् २००४ देखि प्रशिक्षक भएर काम गरे पनि श्रेष्ठले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यसअघि प्रशिक्षण गरेका थिएनन् ।

बिहीबार मनाङलाई दुई खेलअगावै लिग च्याम्पियन बनाएपछि अहिले श्रेष्ठको चर्चा बढेको छ । ‘ए लेभल’ को लाइसेन्स प्राप्त प्रशिक्षक सुमन शहीद स्मारक ‘ए’ डिभिजन लिगको शुरुआती खेलमा गुमनाम जस्तै थिए । लिगमा मनाङले लगातार जित निकालेपछि सुमन सबैको नजरमा पर्न सफल भए ।

पहिलो पटक ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बनेका सुमनले बिहीबार मनाङलाई २ खेलअघि च्याम्पियन बनाउन सफल भए । लिग जितेपछि उनले क्लबको लक्ष्य पूरा भएको प्रतिक्रिया दिए ।

श्रेष्ठले मनाङलाई उपाधि मात्र जिताएनन्, ६४ वर्षे लिग इतिहासमा लगातार ११ खेल जित्ने पहिलो प्रशिक्षक र टोलीको इतिहाससमेत कायम गरे । उपाधि जितिसकेको मनाङले अब जारी लिगमा दुई खेल खेल्न बाँकी छ ।

उनले भने, ‘हाम्रो अथक मिहेनतले दुई खेलअगावै लिग विजेता बन्न सफल भयौँ । लिगभन्दा अगाडि राम्रो तयारी पनि गर्न पाएका थिएनौँ, हामी सिधै सिक्किमको गभर्नस कप खेल्न गयौँ, सिक्किममा च्याम्पियन बनेपछि हाम्रो टोलीको ‘टिम वर्क’ राम्रो बन्दै गयो ।’

पहिलोपटक ‘ए’ डिभिजन लिगको प्रशिक्षक बन्दा सोचेकोभन्दा बढी दबाब महसुस गरको बताउँदै उनले जारी लिगबाट आफूलाई धेरै कुरा सिक्ने मौका मिलेको प्रतिक्रिया दिए ।

एन्फाबाट सन् २००४ मा प्रशिक्षकको रुपमा काम थालेका उनले शुरुआतमा धनकुटामा प्रशिक्षकको काम गरेका थिए । त्यसपछि नेपाल आर्मीको क्षेत्रीय टोलीको प्रशिक्षक हुँदै ‘ए’ डिभिजन क्लब मनाङको प्रशिक्षक बनेका हुन् । रासस