मनाङ प्रशिक्षकको ‘सेटिङ’

2019-01-08

2075-09-24


मनाङ प्रशिक्षकको ‘सेटिङ’

ए डिभिजन लिग

मिलेमतोबारे खुलेरै बोलिरहे पनि एन्फा, लिग कमिटी, अनुशासन समिति, इन्टिग्रिटी अफिसरले कारबाही गर्ने त के स्पष्टीकरण लिने हिम्मतसम्म गरेका छैनन् ।

काठमाडौँ — मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक सुमन श्रेष्ठले आठौं चरणमा त्रिभुवन आर्मीलाई १–० ले पराजित गरेपछि भनेका थिए, ‘अबचाहिँ उपाधि जित्नेमा ७५ प्रतिशत पक्का भयो ।

शतप्रतिशत भन्न हुँदैन किनभने जति बेला जे पनि हुनसक्छ । जित्नेमा विश्वस्त छु तर हाम्रोविरुद्ध सेटिङ हुनसक्छ । एक खेलाडी केही भयो भने... ।’


उनले नवौं चरणमा च्यासलमाथि ३–१ को सफलतापछि पनि पत्रकार सम्मेलनमा सेटिङमै जोड दिए । उनले खेलको विश्लेषणभन्दा बढी शब्द सेटिङमै खर्चिएका थिए । औपचारिक कार्यक्रममा उनका बोली सुन्दा लाग्थ्यो, सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमात्र होइन, हरेक खेल नै सेटिङमै भइरहेको छ । उनका ती बोलीलाई यु–ट्युब र फेसबुकमा फेरि क्लिक गरेर एकतर्फी रूपमा हेर्ने हो भने लिगमा मनाङलाई उपाधिबाट रोक्नका लागि सबैले एकताबद्ध भएर सेटिङ गरिरहे जस्तो लाग्छ ।
दसौं चरणमा पुलिसविरुद्ध १–० को जितपछि भने उनी केही हच्किए । ‘हामीविरुद्ध हुनसक्ने सम्भावित सेटिङबारे कुरा गरिएको हो,’ एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा उनले भने । उनले पछिल्ला तीन पत्रकार सम्मेलनमा बारम्बार भनेका ‘सेटिङ’ प्रस्ट रूपमै ‘खेल मिलेमतो’ भन्ने बुझिन्छ । पाँच वर्षपछि फर्किएको राजधानीको ए डिभिजन लिग के उनले भनेजस्तै सेटिङमै चलिरहेको छ त ?
अखिल नेपाल फुटबल संघ (एन्फा) का इन्टिग्रिटी अफिसर हुन्, सुदीप आचार्य । नेपाल प्रहरीका यी पूर्वडीआईजी निरन्तरजस्तै लिगका खेल हेरिरहेका हुन्छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) द्वारा भ्रष्टाचार अभियोगमा प्रतिबन्ध लगाइएका एन्फाका पूर्वअध्यक्ष गणेश थापासँगको तस्बिर फेसबुकमा अपलोड गरेर पनि पछि हटाएका उनीसँगै एसियाली फुटबल महासंघ (एएफसी) का इन्टिग्रिटी अफिसरले लिगअघि सबै क्लबका प्रशिक्षक र खेलाडीलाई फुटबलमा हुनसक्ने मिलेमतो (फिक्सिङ), त्यसका लागि हुनसक्ने चलखेलका प्रकृतिहरू र मिलेमतो गरेको पाइएमा हुनसक्ने कारबाहीबारे प्रशिक्षण दिएका थिए । त्यसमा मनाङका प्रशिक्षक सुमन श्रेष्ठ पनि सहभागी थिए ।
‘पत्रकार सम्मेलनमा के बोल्ने, के नबोल्ने भन्ने लिगको नियमावलीमा छैन,’ नियमबारे जानकार देखिएका प्रशिक्षक श्रेष्ठले भने । तर, एएफसी र फिफाको नियमावलीमा खेल मिलेमतोको संकेत पाइएमा सम्बन्धित निकाय (नेपालको हकमा एन्फा, लिग कमिटी, अनुशासन समिति, इन्टिग्रिटी अफिसर वा प्रहरी) लाई जानकारी गराउनुपर्छ । प्रमाण नै फेला पारे पनि आरोप लगाउनुअघि जानकारी दिनुपर्छ । तर, मिलेमतोबारे खुलमखुला बोल्न पाइँदैन । न त आरोप लगाउनै पाइन्छ ।
औपचारिक रुपमा कहींकतै जानकारी नदिई सार्वजनिक रूपमा बोलिरहेका छन्, प्रशिक्षकश्रेष्ठ ।
एएफसीका ‘ए’ लाइसेन्सप्राप्त प्रशिक्षक श्रेष्ठ तीन खेलयता सेटिङबारे नियमित बोलिरहेका छन् । उनले सम्भावित मिलेमतोको आरोप लागेयता मनाङले च्यासल र पुलिसविरुद्ध खेल्दै शतप्रतिशत जित कायमै राख्यो । कीर्तिमान आठौंपल्ट च्याम्पियन हुने अभियानमा रहेको मनाङले अब संकटा, हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबविरुद्ध खेल्न बाँकी छ ।
त्यसैले प्रशिक्षक श्रेष्ठको सेटिङ आरोपको निसाना प्रस्टै रूपमा यी पाँच प्रतिद्वन्द्वी हुन् । तर कुनै पनि प्रतिद्वन्द्वीले सम्भावित सेटिङको आरोप लागे पनि प्रतिकार गरेका छैनन् ।
नाइजेरियाली प्रशिक्षक तोपे फुजाको कागजी प्रक्रिया नमिल्दा मनाङको ‘टचलाइन’ सम्हाल्ने अवसर पाएका उनले मिलेमतोबारे खुलेरै बोलिरहे पनि एन्फा, लिग कमिटी, अनुशासन समिति, इन्टिग्रिटी अफिसरले कारबाही गर्ने त के स्पष्टीकरण लिने हिम्मतसम्म गरेका छैनन् । उनी निर्धक्क बोलिरहँदा लाग्छ, उनी नियमभन्दा पनि माथि छन् ।
जबकि विश्व फुटबलको सर्वोच्च संस्थाले मिलेमतोलाई ‘शून्य सहनशीलता’ मानेका छन् र त्यसमा संलग्न हुनेलाई कारबाही गर्न कुनै कसुर बाँकी राखेका छैनन् । नेपालकै पनि राष्ट्रिय टिमका पूर्वकप्तानसहित पाँच खेलाडीमाथि एएफसीले खेल मिलेमतोको अभियोगमा फुटबल गतिविधिमा सहभागी हुनबाट आजीवन प्रतिबन्ध लगाएको थियो ।
लिगमा पहिलोपल्ट क्लब सम्हाल्ने अवसर पाएका प्रशिक्षक श्रेष्ठले ‘माइन्ड गेम’ खेलेको हुन पनि सक्छ । त्यसो हो भने पनि त्यो उनको सबैभन्दा घिनलाग्दो रणनीति हो । र, उनलाई नियममा बाँध्न नसक्ने एन्फा र यसका अंगहरूको लाचारीपन । वास्तवमा रेलिगेसनबिनाको लिग गर्ने निर्णयसँगै एन्फा नेतृत्वको सर्वत्र आलोचना भएको थियो, जसले लिगको सौन्दर्य लुटेको थियो ।

त्यसमाथि घरेलु फुटबलका लोकप्रिय क्लबका मुख्य प्रशिक्षकको खुलमखुला ‘सेटिङ’ ले लिगलाई अझै स्तरहीन बनाइदिएको छ । फुटबललाई सुन्दर खेल होइन, घिनलाग्दो प्रतिस्पर्धामा रूपान्तर गरिरहेको छ । ५ वर्षपछि तीन सय बढी खेलाडीको रोजगारी फर्किएको लिगमा उनको सेटिङ कालिदासको आफैं बसेको हाँगा कटाई बनिरहेको छ ।

स्रोत: कान्तिपुर दैनिक